विद्यालयबाट घर फर्किँदै गरेका दुई अबोध छात्राको मृत्यु

हेटौंडा–१९ स्थित निर्मल माध्यमिक विद्यालयमा दिनभरिको अध्ययन सकिएपछि खुसीसाथ घर फर्किँदै गरेका साना बालबालिकाका लागि बासुदेव खोला एक्कासि ‘काल’ बनेर आइदियो। विद्यालयको पोसाकमै बासुदेव खोला तर्ने क्रममा अचानक आएको तीव्र बहावले चार जना बालबालिकालाई बगाएपछि अहिले सिङ्गो हेटौंडा–१९ क्षेत्र गहिरो शोक, स्तब्धता र रुवाबासीमा डुबेको छ।

​मंगलबार भएको यो कारुणिक घटनापछि बेपत्ता बालबालिकाको खोजी गर्ने क्रममा दोस्रो विद्यार्थी बिनिता बोलनको शव बुधबार बासुदेव र राप्ती खोलाको दोभान (घटनास्थलबाट करिब ३ किलोमिटर टाढा) फेला परेको छ। यसअघि राक्सिराङ–१ की कक्षा २ मा अध्ययनरत रेशमा स्याङतानको शव भेटिसकिएको थियो। योसँगै उक्त विपद्मा परी ज्यान गुमाउने निर्दोष बालबालिकाको संख्या दुई पुगेको छ।

​उक्त भयानक दुर्घटनाका बीच एउटा राहतको किरण भने भेटिएको छ। खोलाको तीव्र बहावमा बगेकी कक्षा ६ की छात्रा सिमा बोलनलाई घाइते अवस्थामा सकुशल उद्धार गर्न सफलता मिलेको छ। उद्धारलगत्तै उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ। तर, विपद्को त्रास अझै साम्य भएको छैन; कक्षा ५ मा अध्ययनरत अर्की छात्रा सुमित्रा बोलन अझै बेपत्ता छिन्, जसका कारण आफन्त र स्थानीयवासी निकै चिन्तित बनेका छन्।

​बेपत्ता सुमित्राको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाहरूको संयुक्त टोली बासुदेव र राप्ती खोला क्षेत्रमा खटिएका छन्। यो दुखद् घटनाले साना नानीबाबुहरूका लागि विद्यालय जाने बाटोमा सुरक्षित पूर्वाधार र पुलको टड्कारो आवश्यकतालाई पुनः सतहमा ल्याइदिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.