हेटौँडा, १६ श्रावण — उच्च शिक्षा क्षेत्रमा हुने अध्ययन-अनुसन्धानलाई विश्वव्यापी पहुँचमा पुर्याउने र स्वदेशी प्राज्ञिक जर्नलहरूको गुणस्तर सुदृढ बनाउने उद्देश्यका साथ हेटौँडामा दुई दिने राष्ट्रिय कार्यशाला सुरु भएको छ। मकवानपुर बहुमुखी क्याम्पसको आयोजना र ‘नेपाल पोलिसी रिसर्च सेन्टर’ (NPRC) को सहजिकरणमा सुरु भएको यो क्षमता अभिवृद्धि कार्यक्रममा देशका ५ वटा प्रदेशका २६ भन्दा बढी क्याम्पसका प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको उत्साहजनक सहभागिता रहेको छ।
कार्यक्रममा सहभागी शोधकर्ता तथा सम्पादकहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका जर्नल सम्पादन र प्रकाशन प्रक्रियाबारे व्यावहारिक तालिम दिइँदै छ। खासगरी डिजिटल युगमा अनुसन्धानको पहुँच बढाउन अत्यावश्यक मानिने DOI दर्ता, मेटाडेटा मापदण्ड, पियर रिभ्यु (Peer Review) प्रणाली र अन्तर्राष्ट्रिय सूचकाङ्क (International Indexing) जस्ता प्राविधिक विषयमा गहन छलफल भइरहेको छ। यसले नेपाली क्याम्पसहरूबाट प्रकाशित हुने अनुसन्धानमूलक सामग्रीहरूलाई विश्वभरका प्राज्ञिक समुदायसम्म पुर्याउन ढोका खोल्ने अपेक्षा गरिएको छ।
मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त प्रसाद पौडेलको प्रमुख आतिथ्यता तथा क्याम्पस प्रमुख डा. यम बहादुर सिलवालको अध्यक्षतामा उद्घाटन गरिएको कार्यशाला श्रावण १७ गतेसम्म चल्नेछ। डा. तेज बहादुर कार्की र डा. दशरथ न्यौपानेलगायतका विषयविज्ञहरूको उपस्थिति रहेको यस कार्यक्रमले नेपाली क्याम्पसहरूबीच अनुसन्धान क्षेत्रमा नयाँ सहकार्यको वातावरण बनाउनुका साथै उच्च शिक्षाको समग्र गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।








