काठमाडौँ, साउन १२ — सुनसरीको देवानगन्ज गाउँपालिका–३ कसानगञ्जमा साउन १० गते भएको घटना र त्यसपछि पूर्वी नेपालका केही जिल्लाहरूमा उत्पन्न अशान्त परिस्थितिप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते व्यक्ति तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
घटनामा घाइते भएकाहरूको नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइएको सरकारले जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहित ७ दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। उक्त समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको विज्ञप्तिमा उल्लेख छ।
पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाइएको छ। कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने स्पष्ट पार्दै सरकारले सदियौँदेखि कायम धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेको छ।
सामाजिक तथा धार्मिक सहिष्णुतामा खलल पुर्याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन र त्यस्ता भ्रामक खबरबाट प्रभावित नभई उच्च संयमता अपनाउन सरकारले आग्रह गरेको छ। मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ-संस्था, आमसञ्चार माध्यम र सर्वसाधारणमा सरकारले हार्दिक आह्वान गरेको छ।









