हेटौँडा। मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४, उत्तरपानीस्थित उर्गेन पेमा डुप्किलिङ बौद्ध गुम्बामा विशेष बज्र गुरु जप साधना पूजा कार्यक्रम भव्य रूपमा सञ्चालन भइरहेको छ। गुम्बा म्हाणि आमा समूहको आयोजनामा सुरु भएको ९ दिने यस धार्मिक अनुष्ठानमा स्थानीय भक्तजनहरूका साथै विभिन्न क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको छ। धार्मिक सहिष्णुता, शान्ति, सद्भाव र पुण्य लाभको कामनासहित आयोजित यस पूजामा हरेक दिन बिहान ७ बजेदेखि पूजा पाठ, धर्म प्रवचन तथा साधनाका विभिन्न कार्यक्रमहरू भइरहेका छन्।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूले समेत विशेष चासो र उपस्थिति जनाएका छन्। यसै क्रममा हिजो हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष फुर्वादोर्जे लामा र आज हेटौँडा वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मोक्तान कार्यक्रम स्थलमा पुग्नुभएको छ। कार्यक्रममा पुग्नुभएका जनप्रतिनिधिहरूले गुम्बाको विकास, संस्कार र संस्कृतिको जगेर्नाका लागि स्थानीय सरकार र वडा कार्यालय सधैँ सकारात्मक रहेको बताउँदै पूजा सफलताको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा लामा गुरुहरूबाट दिइने धार्मिक तथा आध्यात्मिक प्रवचन रहेको छ, जसले उपस्थित भक्तजनहरूलाई सत्कर्म र शान्तिको मार्गमा लाग्न प्रेरित गरेको छ। असार ३१ गतेदेखि सुरु भएको यो ९ दिने साधना पूजा आगामी साउन ८ गते दशमीको दिन विशेष छेवाड पूजा र नेपाल बौद्ध निङ्मा संघका श्रद्धेय धर्म गुरु टुल्कु स्याङडाक रिन्पोछेज्यूको उपस्थितिमा अभिषेक कार्यक्रमसहित समापन हुने आयोजक उर्गेन पेमा डुप्किलिङ बौद्ध गुम्बा म्हाणि आमा समूहले जनाएको छ।








