पूर्वाधार र शिक्षामा हेटौँडा–४ को फड्को: चालु आर्थिक वर्षभित्र गौरवका आयोजना सम्पन्न हुने

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ लाई व्यवस्थित र नमुना सहरका रूपमा रूपान्तरण गर्न चालु आर्थिक वर्ष (आव) २०८३/०८४ भित्र दर्जनौँ महत्वपूर्ण विकास योजनाहरू सम्पन्न हुने भएका छन् । स्थानीय जनप्रतिनिधिहरूको दोस्रो कार्यकालको अन्तिम वर्ष प्रवेश गरेको अवसरमा वडा कार्यालयले संघीय, प्रदेश र नगर सरकारको बजेट समन्वयमा सञ्चालन हुने मुख्य योजनाहरूको खाका सार्वजनिक गरेको हो । विगतका कार्यकालमा गरिएका भौतिक तथा सामाजिक सुधारका जगमा उभिएर यस वर्ष अधुरा ठूला आयोजनाहरूलाई पूर्णता दिने नीति वडाले लिएको छ ।

​पूर्वाधार विकासतर्फ लामो समयदेखि अधुरो रहेको रजतजयन्ती सडक र वडा प्रहरी कार्यालय–हुप्र पूर्वी सडक खण्ड यसै वर्ष निर्माण सम्पन्न हुनेछन् । वडाभित्रका हुप्र वरिपरिका सडकहरूलाई प्रदेशकै नमुना सडक बनाउन विस्तृत परियोजना प्रतिवेदन (DPR) स्वीकृत भई यसै वर्ष ठेक्का प्रक्रिया अगाडि बढ्ने वडा कार्यालयले जनाएको छ । यसका साथै सूर्य चोकदेखि कर्रा खण्ड, प्रजातान्त्रिकपथ, सिर्जनापथ, अजरअमर रोड लगायत वडाका सम्पूर्ण कच्ची सडकहरूलाई स्तरोन्नति गरी धुलो, हिलो र डुबानमुक्त बनाउने अभियानलाई तीव्रता दिइनेछ ।

​सामुदायिक शिक्षाको सुधारलाई मुख्य प्राथमिकतामा राख्दै वडाले यस वर्ष ठूला पूर्वाधार र प्रविधिमैत्री सिकाइमा जोड दिएको छ । जसअन्तर्गत श्रमिक माध्यमिक विद्यालयको २४ कोठे तीन तले भवन र भुटनदेवी माध्यमिक विद्यालयमा ३ करोडको लागतमा निर्माण भइरहेको १२ कोठे भवन यसै वर्ष सम्पन्न हुनेछन् । साथै, भुटनदेवी माविमै आधुनिक आईटी पार्क निर्माणको काम थालिनेछ भने आधुनिक राष्ट्रिय मावि र हेटौँडा क्याम्पसमा थप पूर्वाधार थपिनेछन् । विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि कक्षा ११ मा निःशुल्क छात्रवृत्ति र श्रमिक माविको छात्रवृत्ति कोषलाई १० लाख रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको छ ।

​स्थानीयवासीको जीवनस्तर र सहरी सौन्दर्यलाई उकास्न लोकतान्त्रिक चौर (हुप्र) को आधुनिकीकरण, मोहन बज्राचार्य आधारभूत सहरी स्वास्थ्य केन्द्रको सवलीकरण, र गर्दोहीमा सार्वजनिक हल निर्माण जस्ता आयोजनाहरू अघि बढाइनेछ । युवाहरूका लागि आधुनिक कौसी खेती तथा डिजिटल सीपमूलक तालिम, नगर एवं जिल्लास्तरीय खेलकुद प्रतियोगिताहरू, र आदिवासी जनजाति सांस्कृतिक महोत्सव जस्ता कार्यक्रमहरू पनि यही वर्ष सञ्चालन हुनेछन् । शैक्षिक गुणस्तर समिति, टोल विकास संस्था, र महिला जागरण समूह जस्ता स्थानीय संयन्त्रहरूसँगको सहकार्यमा वडालाई पूर्ण समावेशी र हिंसामुक्त बनाउने अभियानलाई अन्तिम वर्षमा थप प्रभावकारी बनाइने वडा कार्यालयले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.