हेटौँडा। विगत केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण मकवानपुर जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो र खोलानालामा पानीको बहाव उच्च भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले यातायात सञ्चालनमा रोक लगाएको छ। मिति २०८३ असार २८ गते रातिदेखि परेको निरन्तर वर्षाले विभिन्न सडक खण्डहरू अवरुद्ध भई सडक यातायात प्रभावित भएको र उच्च जोखिमको अवस्था सिर्जना भएकाले प्रशासनले यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी अत्यन्त जरुरी सूचना अनुसार, हेटौँडा–ठिंगन–बागमती–ललितपुर सडक खण्डमा गुड्ने सवारी साधनहरूलाई २०८३ असार २९ गते साँझ ५:०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि चौघडामा रोकिनेछ। त्यसैगरी, हेटौँडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडक खण्डमा चल्ने सवारी साधनहरूलाई हेटौँडाको चौकीटोलमा असार २९ गते साँझ ५:०० बजेदेखि असार ३० गते बिहान ५:०० बजेसम्मका लागि सञ्चालन नगर्न र नगराउन आदेश दिइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा हस्ताक्षरित उक्त सूचनामा यात्रीहरूको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि यो कदम चालिएको उल्लेख छ। प्रशासनले सम्बन्धित सबै निकाय, यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई तोकिएको स्थान र समयपश्चात् सवारी साधन नलगाउन, सुरक्षित स्थानमा रहन र मौसम तथा सडक अवस्थासम्बन्धी आधिकारिक सूचनाको निरन्तर पालना गर्न समेत विशेष अनुरोध गरेको छ।








