हेटौँडा, २८ असार । मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडाको आयोजनामा दुई दिवसीय ‘पियर लर्निङ सेमिनार’ भव्यताका साथ सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोग (UGC) बाट वर्ष २०८२/०८३ मा गुणस्तर सुनिश्चितता प्रत्ययन (QAA) प्राप्त गरी उत्कृष्ट (Lead Campus) घोषित नेपालका चार प्रदेशका ७ वटा सामुदायिक क्याम्पसहरूको ऐतिहासिक सहभागितामा सो सेमिनार आयोजना गरिएको हो । कार्यक्रममा नेपालको उच्च शिक्षामा गुणस्तर कायम गर्न, शैक्षिक सहकार्यलाई निरन्तरता दिन र यी क्याम्पसहरूलाई भविष्यमा डिग्री अवार्डिङ शैक्षिक संस्थाका रूपमा रूपान्तरण गर्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक उत्कृष्ट सामुदायिक क्याम्पसहरूको सञ्जाल (Lead Campus Network) समेत गठन गरिएको छ ।
शनिबार विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्रा. डा. देवराज अधिकारीबाट उद्घाटन भएको उक्त सेमिनारमा क्याम्पस प्रमुख प्रा. डा. यमबहादुर सिलवालको नेतृत्वमा ७ सदस्यीय तदर्थ कार्यसमिति र संविधान सभा सदस्य एवं क्याम्पस सञ्चालक समिति अध्यक्ष अनन्त प्रसाद पौडेलको अध्यक्षतामा ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । दुई दिनसम्म चलेको सेमिनारमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, त्रिविका निमित्त रजिस्ट्रार एवं व्यवस्थापन संकायका डिन प्रा. डा. महानन्द चालिसे लगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । गोष्ठीका विभिन्न सत्रहरूमा उत्कृष्ट क्याम्पसका प्रतिनिधिहरूले आ-आफ्नो क्याम्पसको शैक्षिक, आर्थिक एवं भौतिक क्रियाकलाप, असल अभ्यास र चुनौतीहरू समेटिएका कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।
सेमिनारको दोस्रो दिन आइतबार आदिकवि भानुभक्त क्याम्पसका प्रमुखद्वारा सञ्जालको सञ्चालन सम्बन्धी मार्गचित्र तथा व्यवस्थापन संकायका पूर्व डिन प्रा. डा. डिल्लीराज शर्माद्वारा पियर लर्निङ र सञ्जालको औचित्यबारे विशेष कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा बालकुमारी कलेज, लुम्बिनी वाणिज्य क्याम्पस, आदिकवि भानुभक्त क्याम्पस, सुकुना बहुमुखी क्याम्पस, दमक बहुमुखी क्याम्पस र जनप्रिय बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष, क्याम्पस प्रमुख, गुणस्तर सुनिश्चितता समितिका संयोजकहरूका साथै तीनवटा पर्यवेक्षक क्याम्पसका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो । यो नवगठित ऐतिहासिक सहकार्यलाई उच्च शिक्षाको नीति निर्माण, विद्यार्थी केन्द्रित शिक्षण र गुणस्तर अभिवृद्धिमा केन्द्रित गर्दै छिट्टै संस्थागत स्वरूप दिने समझदारी बनेको छ ।








