नेपाल सरकार मातहतका सुरक्षा निकाय र ‘राइडर’ हरूबीचको बढ्दो टकरावले अन्ततः एक श्रमजीवीको ज्यान लिएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि रोकिराखेको मोटरसाइकल सुरक्षाकर्मीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि उत्पन्न विवादमा मुगुका गणेश नेपालीले आत्मदाह गरेका हुन्। प्रशासनको ‘ज्यादती’ विरुद्ध आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका नेपालीको वीर अस्पतालको बर्न सेन्टरमा उपचारका क्रममा मृत्यु भएको छ। ५५ प्रतिशत शरीर जलेका उनको अवस्था गम्भीर भएपछि दिल्ली रिफर गर्ने तयारी गरिए पनि स्वास्थ्य थप बिग्रेका कारण अस्पतालमै बिहान ११:२० बजे निधन भएको हो।
यो दुःखद घटनाले काठमाडौँमा श्रम गरेर गुजारा चलाउने भुइँमान्छे र नेपाल सरकारका विभिन्न प्रशासनिक निकायको निर्मम कार्यशैलीबीचको गहिरो खाडललाई पुनः छताछुल्ल पारेको छ। भक्तपुरमा श्रीमती र छोरीका साथ बस्दै आएका मुगु सोरु गाउँपालिका–१ का गणेश राइड सेयरिङ एपमार्फत दैनिक रोजीरोटी कमाउँथे। प्रत्यक्षदर्शीहरूका अनुसार सुरक्षा र व्यवस्थापनका नाममा लचकता नअपनाई बल प्रयोग र धरपकडको नीति लिँदा चरम निराशामा पुगेका एक श्रमजीवीले आत्मदाह जस्तो आत्मघाती बाटो रोज्न बाध्य भएका हुन्। ट्राफिक व्यवस्थापन र सडक क्लियर गर्ने कडा नीतिको नाममा न्यून आय भएका नागरिकको बाँच्न पाउने र श्रम गर्ने अधिकारमाथि कसरी प्रहार भइरहेको छ भन्ने कुराको यो एउटा ज्वलन्त र भयावह उदाहरण बनेको छ।
घटनापछि वीर अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ भने नेपाल सरकारका प्रधानमन्त्री सचिवालयका सल्लाहकारसहितको टोली मृतकका परिवारसँग समन्वय र छलफलमा जुटेको छ। नवनियुक्त न्याम्सका पदाधिकारीहरू र अस्पताल प्रशासनबीच पनि यस विषयमा गम्भीर संवाद भइरहेको छ। यो घटनाले सरकारी सुरक्षा नीतिको संवेदनहीनतामाथि मात्र प्रश्न उठाएको छैन, बरु स्वरोजगार नागरिकलाई व्यवस्थित र सम्मानित वातावरण दिनुको साटो प्रशासनले कसरी विस्थापित र प्रताडित गरिरहेको छ भन्ने गम्भीर बहस समेत सतहमा ल्याइदिएको छ।








