हेटौँडा । बाग्मती प्रदेशको राजधानी हेटौँडा-४ स्थित लोकतान्त्रिक चौर (हुप्र) केवल खेलकुद र हिँडडुल गर्ने स्थानमा मात्र सीमित नभई अब देशकै नमूना ‘महिला मैत्री तथा जलवायु उत्थानशील’ खुल्ला क्षेत्रका रूपमा रूपान्तरण हुने भएको छ । कुनै समय गाईभैँसी चर्ने र सवारी साधन सिक्ने अस्तव्यस्त मैदानको रूपमा रहेको यो चौरलाई पछिल्लो समय व्यवस्थित बनाउँदै लगिएको छ । यसै क्रममा चौरलाई थप सुरक्षित, आधुनिक र पर्यावरण-मैत्री बनाउन “महिला मैत्री सहर: समावेशी र जलवायु उत्थानशील सहरीकरण परियोजना” अन्तर्गत रु. ८१ लाखको नयाँ ठेक्का (बोलपत्र) आह्वान गरिएको छ ।
नगर विकास क्षेत्रभित्रको मुटुमा रहेको यस चौरलाई विगतमा पर्खाल लगाएर सुरक्षित गरिएपछि यहाँको स्वरूप बदलिने क्रम सुरु भएको थियो । स्थानीय तहको निर्वाचनपछि वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलको पहलमा चौरमा हिँड्ने ट्र्याक, आधुनिक शौचालय, खुला व्यायामशाला (जिम) र हरियाली प्रवर्द्धनका कामहरू भइसकेका छन् । हालै निर्माण गरिएको जेष्ठ नागरिक कक्षले यसको उपयोगितालाई झनै बढाएको छ । दैनिक हजारौँ नागरिकले प्रयोग गर्ने यो चौरमा अब थपिने नयाँ पूर्वाधारले हेटौँडाको सहरी सौन्दर्य र वातावरणीय सन्तुलनमा ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ ।
रु. ८१ लाख बराबरको नयाँ बजेटबाट चौरमा खुला व्यायामशालाको स्तरोन्नति, गुणस्तरीय खानेपानीको व्यवस्था, फूलको क्यारी निर्माण तथा बस्नका लागि आरामदायी स्थलहरू बनाइनेछ । विशेष गरी जलवायु अनुकूलनलाई ध्यानमा राख्दै चौरमा ‘आकासे पानी व्यवस्थापन’ (रेनवाटर हार्भेस्टिङ) को प्रविधि समेत जडान गरिने वडा अध्यक्ष सिग्देलले जानकारी दिनुभएको छ । यस योजनाले हुप्र चौरलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागिसमेत अत्यन्तै सुरक्षित, समावेशी र सुविधायुक्त साझा केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।








