हेटौंडा! विश्वविद्यालयहरूको नीतिगत अन्योल र आर्थिक दबाबबिच देशका अग्रणी सामुदायिक क्याम्पसहरूले आफ्नो वित्तीय भविष्य सुरक्षित गर्न सहकार्य थालेका छन्। यसै सिलसिलामा हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पस र दमौलीको आदिकवि भानुभक्त क्याम्पसबिच बिहीबार हेटौँडामा एक विशेष वित्तीय समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विगत दुई वर्षदेखिको नीतिगत समझदारी (MoU) लाई व्यवहारमा उतार्दै दुवै क्याम्पसले आन्तरिक स्रोतको व्यवस्थापन, दिगो आर्थिक रणनीति र शैक्षिक गुणस्तरलाई आर्थिक संकटबाट कसरी जोगाउने भन्ने गम्भीर यथार्थमाथि मन्थन गरेका छन्।
मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष अनन्त प्रसाद पौडेलको अध्यक्षता तथा आदिकवि भानुभक्त क्याम्पसका उपाध्यक्ष श्रीराम कार्कीको विशेष उपस्थितिमा भएको उक्त बहसमा विद्यार्थीमाथिको आर्थिक भार र क्याम्पस सञ्चालन खर्चबिचको सन्तुलन मुख्य एजेन्डा बन्यो। कार्यक्रममा मकवानपुर क्याम्पसका प्रमुख प्रा. डा. यमबहादुर सिलवालले उठाइएका वित्तीय जिज्ञासाहरूको निरूपण गर्नुभएको थियो भने सहायक प्रमुखहरू दिनेश विडारी र संगम चौलागाईंले क्याम्पसको शुल्क संरचना, स्वचालित शुल्क वृद्धिको व्यावहारिक प्रावधान, आर्थिक रणनीति र लक्षित छात्रवृत्ति व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। शैक्षिक संस्था चलाउन केवल शुल्कमा मात्र निर्भर नभई पुँजीगत खर्च र दीर्घकालीन उपदान कोषजस्ता दायित्वलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा दुवै पक्षबिच अनुभव आदानप्रदान भयो।
आदिकवि क्याम्पसका प्रमुखको नेतृत्वमा आएको अध्ययन भ्रमण टोलीमा आर्थिक, विधायन, खरिद र जग्गा व्यवस्थापन समितिका पदाधिकारीहरूको सक्रिय सहभागिताले यो अन्तरक्रिया केवल औपचारिक भेटघाट मात्र नभई संस्थागत सुशासन सुदृढ गर्ने अभ्यास भएको पुष्टि गर्छ। प्राध्यापक सङ्घ, स्ववियु नेतृत्व तथा विभिन्न विधाका विद्यार्थी क्लबका प्रतिनिधिहरूसमेतको उपस्थिति रहेको उक्त कार्यक्रममा संकलित शुल्कको पारदर्शी परिचालन र विद्यार्थीकेन्द्रित रणनीतिबारे व्यापक विमर्श भएको थियो। कार्यक्रमको समापनमा दुवै क्याम्पसका नेतृत्वले भविष्यमा पनि वित्तीय र प्रशासनिक चुनौतीहरू मिलेरै सामना गर्ने प्रतिबद्धतासहित मायाको चिनो आदानप्रदान गरेका थिए, जसको सहजीकरण सहायक क्याम्पस प्रमुख उत्तम अर्यालले गर्नुभएको थियो।








