काठमाडौं ।
कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा बाढी पसेपछि अनुगमनका लागि पुगेका जेनजी अभियन्ता माजिद अन्सारी प्रहरीको गम्भीर कुटपिटपछि अस्पतालको शय्याबाटै आफ्नो जीवनरक्षाका लागि गुहार मागिरहेका छन् । गत शनिबार साँझ १०–१२ जनाको संख्यामा रहेका प्रहरीले नियन्त्रणमा लिने क्रममा गरेको लछारपछार र कुटपिटबाट गम्भीर घाइते भएका अन्सारीको हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । आफूलाई कुन कसुरमा र किन नियन्त्रणमा लिइएको हो भन्नेबारे अहिलेसम्म कुनै पक्राउ पुर्जी वा जानकारी नदिइएको भन्दै उनले यो धरपकड पूर्ण रूपमा गैरकानूनी र नियोजित रहेको दाबी गरेका छन् ।
उपचारकै क्रममा रहेका अन्सारीलाई जबरजस्ती डिस्चार्ज गराएर जिल्ला प्रशासन कार्यालय लैजाने र सार्वजनिक मुद्दा चलाउने तयारीमा प्रहरी लागेको अन्य अभियन्ताहरूले बताएका छन् । रातभर सादा पोसाकका प्रहरीको घेरामा रहेका माजिदको बेडमै बिहानै प्रहरी पुगेपछि स्थिति थप रहस्यमय बनेको छ । यस्तो दबाबपूर्ण अवस्था सिर्जना भएपछि अभियन्ता अन्सारीले राष्ट्रिय मानव अधिकार आयोगको रोहबरबिना आफू अस्पतालबाट प्रशासनमा उपस्थित नहुने स्पष्ट अडान लिएका छन् । गैरकानूनी रूपमा थुनामा राख्न दबाब दिइएको सूचना बाहिरिएसँगै मानव अधिकार आयोगको टोली यतिबेला अस्पतालतर्फ प्रस्थान गरिसकेको बुझिएको छ ।
अस्पतालको शय्याबाटै वक्तव्य जारी गर्दै अन्सारीले आफू विरुद्ध लक्षित रूपमा गरिएको यो दमनको कारण सार्वजनिक रूपमा स्पष्ट पार्न गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजीपी) सँग माग गरेका छन् । उनले संघीय संसदका माननीय सदस्यहरू, प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज र अन्तर्राष्ट्रिय मानव अधिकार समुदायलाई आफ्नो जीवन, स्वतन्त्रता र सुरक्षा सुनिश्चित गरिदिनका लागि तत्काल पहल गर्न अपिल समेत गरेका छन् । यस संवेदनशील घटना र अभियन्ताले लगाएको गम्भीर आरोपका सम्बन्धमा नेपाल प्रहरी वा गृह मन्त्रालयले हालसम्म कुनै पनि आधिकारिक धारणा वा प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।







